फाइल तस्बिर
काठमाडौँ, २१ भदौ । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोइरालाले यस्तो माग गरेकी हुन् ।
कोइरालाले चीनसँगका दुई वटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताइन् । उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद कोइरालाले नाका बन्द हुँदा व्यापारी पीडित भएको र उनीहरू आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेकाले सो विषयमा कुटनीति पहल गर्न आग्रहसमेत गरिन् ।







