काठमाडौँ, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले वीर अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रवक्ता शाहीले शुक्रबार भएको राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
साथै उनले राष्ट्रपति भण्डारीले क्षमा माग्नुपर्ने बताए । जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई दिएको सम्मानको कुनै अर्थ नहुने शाहीको भनाइ छ ।
‘शुक्रबार बाटो हिँडेको भन्दै बाटोमा हिँड्दै गरेका ट्रमा सेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट गरी सिकिस्त बनाएको घटनाले हामीलाई मर्माहित भएका छौँ । यो प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमनागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनसिल मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु यो घोर आपतीजन्य निन्दनिय कार्य हो,’ उनले भनेका छन्, ‘सम्माननिय राष्ट्रपतिलाई सम्मान दिनु पर्छ तर जनतालाई सास्ती दिएर गरेको सम्मानको के अर्थ के? हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अन्त हुन जरूरी छ । चिकित्सक माथिको कुटपिट तथा अपमानको घोर निन्दा र भत्सर्ना गर्दछु। साथै सम्माननिय राष्ट्रपतिले यो बिषयमा चिकित्सकसँग माफी माग्न हार्दिक अनुरोध गर्दछु ।’







