काठमाडौँ, २ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् ।
बिहीवार नेपाल प्रेस युनियन काठमाडौँले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताए ।
उनले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताएका थिए । उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताए ।
उनले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गरेका थिए । उनले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए । महामन्त्री थापाले निर्वाचन पूर्व कांग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । उनले आगामी निर्वाचनमा कांग्रेस गठबन्धन गरेर गएमा कांग्रेस पार्टी एक नरहने बताए ।
उनले भने, ‘०८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ । क्लियर कुरा गरेको छ । यसमा कहीँ अलमल छैन । हामी एक्लै जान्छौँ । अहिले प्रधानमन्त्रीले के भन्नुहुन्छ बेला बेलामा राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको । आर्थिक संकट भयो कांग्रेसको मन्त्री छ गर्नै सकेन । भ्रष्टाचारको बारेमा मैले त राम्रो काम गर्न खोजेको थिएँ, तर फलानोले, मन्त्रीहरुले समाचार लेखाइरहेका छन् बेलाबेलामा । मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर कांग्रेसको कारणले गर्दा दिएन । गठबन्धनको सरकार बाध्यता छ ।’







