Logo

कुनै दल वा शक्ति केन्द्रको दबाबमा नपरि सुन प्रकरणकाे अनुसन्धान हुन्छ: गृहमन्त्री



काठमाडौँ, ५ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिने गरी योजना बनाउने बताएका छन् ।

विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही गरिने र आउँदा दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताएका हुन् ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका घटना हेरेर केही सावधानी अपनाउनुपर्ने भए पनि कमीकमजोरी भएको बताए । कतै बालकोट, बालुवाटार र बूढानीलकण्ठ मिलेर यो घटना सामसुम पारिने त होइन’ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै ‘कोट’, ‘टार’ र पार्टीकाे मतलब छैन ।’

उनले सुनको अवैध धन्दाजस्ता आपराधिक क्रियाकलाप आउँदाे दिनमा नदाेहाेरिने गरी नयाँ योजना ल्याउने घोषणा समेत गरे । उनले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान शुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने दाबी समेत गरेका थिए । आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन याे प्रकरणमा मुछ्ने प्रयास गरिएको उनकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस्