काठमाडौं, २४ मंसिर । प्रमुख सत्तारूढ नेपाली कांग्रेसले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत नेपालमा अनुदानका मात्रै परियोजना कार्यान्यवन गरिने जनाएको छ ।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानीका क्रममा प्रवक्ता प्रकाशरण महतले चीनले अघि बढाएको बीआरआईअन्तर्गत ऋणका परियोजना अघि नबढाउने बताउनुभएको हो ।
‘बीआरआई सन्दर्भमा पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्ने, ऋण स्वीकार नगर्ने भनेको थियो । त्यसैबमोजिम चीनबाट आएको प्रारम्भिक प्रस्ताव थियो’, उहाले भन्नुभयो , ‘त्यसमा सरकारले र पार्टीकोतर्फबाट पनि भनाइ राख्यौँ । हाम्रो भनाइअनुसार नै सरकारले चिनियाँ सरकारसमक्ष आफ्ना धारणा प्रस्तुत गर्यो ।’
बैठकपछि उहाले कार्यान्वयन समझदारी फ्रेमवर्कमा नेपालको राष्ट्रिय आवश्यकता, हित र अनुकूलताका विषयवस्तुलाई मात्रै समावेश गर्ने गरेर कुरा अघि बढेको पनि बताउनुभयो ।
‘त्यसमा ग्रान्ट फाइनाइन्सिङ नभएर एड फाइनाइन्सिङ आयो भन्ने सार्वजनिक चर्चा छ’, उहाले भन्नुभयो , ‘एड फाइनाइन्सिङमा ग्रान्ट फाइनाइन्सिङ स्वाभाविक रुपमा पर्ने भाइहाल्यो ।’
उनले बीआरआई फ्रेमवर्कमा परियोजनाका १० वटा सूची रहे पनि जानकारी दिनुभयो । ‘ती परियोजना सम्झौता गर्दा अनुदानका आधारमा मात्रै सम्झौता गर्ने । जुनमा चीनले अनुदान दिन तयार हुन्छ, ती आयोजना अगाडि बढ्छन्, त्यसैअनुसार अगाडि जानुपर्छ’, महतले भन्नुभयो , ‘हाम्रो भनाइ अहिले पनि अनुदान सहयोग मात्रै लिने हो । त्यो चीन सरकारको सवालमा मात्रै हुँदैन । आगामी दिनमा दुई पक्षीय सरकार–सरकारबाट प्राप्त हुने ऋणको अनेकौँ शर्तहरू भएकाले त्यस्ता शर्त ऋण लिँदा देशलाई फाइदा नहुने, परियोजना कार्यान्वयन भएपछि प्राप्त प्रतिफल त्यो ऋण तिर्न सक्ने नहुने हुन सक्छ । पोखरा एयरपोर्टको पनि हामीसँग नराम्रो अनुभव छ ।’
उहाले चीनको ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको प्रतिफल नआउने सुनिश्चित भइसककेको बताउनुभाये । ‘अहिले हामी ऋण लिन सक्ने अवस्थामा छैनौँ’, उहाले भन्नुभयो , ‘हामीलाई ऋणको बोझ धेरै छ ।’