
काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लागेका हो ।
आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् ।
थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।
सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो । एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै जना यसअघि मन्त्री बनेका थिएनन् ।
त्यसैगरी दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई शपथ खुवाउने तयारी रहेको एमाले उच्च स्रोतले बताएको छ ।
यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । पौडेलबाहेक अरू मन्त्रीको जिम्मेवारी तोकिएको छैन । आज उनीहरूको जिम्मेवारी समेत तोकिने छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्रीमा शिखिर खनालको नाम टुंगो लागेको छ । यसैगरी डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । पार्टी लामिछाने यस अघि नै उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।
यसैगरी राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने राप्रपा स्रोतले बताएको छ ।
जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ ।







