Logo

कुन नेताले कहाँबाट गरे मतदान? (फोटो फिचर)



काठमाडौँ, ३० वैशाख । आज शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने छ । मतदान सुरु भएपछि विभिन्न दलका शिर्षस्थ नेता तथा उमेदवारहरुले मतदान सुरु गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् ।

यस्तै एमाले उपाध्य विष्णु पौडेलले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् भने एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङ्को मैवाखोला गाउँपालिका ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।

यस्तै गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि मतदान केन्द्रमा मतदान गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्