Logo

कुर्सीप्रतिको मोहका कारण देशमा राजनीतिक र आर्थिक संकट देखा पर्यो: खनाल



काठमाडौँ, ८ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले देशमा राजनीतिक र आर्थिक संकट देखा परेको बताएका छन् ।

शुक्रबार नेपाल नर्सिङ कन्फरेन्समा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले नेतृत्वमा भएको कुर्सीप्रतिको मोहका कारण मुलुक राजनीतिक र आर्थिक संकटमा देखा परेको बताएका हुन् ।

‘देशको निर्माण जुन हिसाबले जानुपर्ने थियो । संविधानको भाग ४ मा व्यवस्था भएबमोजिम देश गएन । अहिले पनि गइरहेको छैन । नेताहरूमा पद कुर्सी कता पाइन्छ त्यतातिर ध्यान छ । कुर्सी र पदका पछि लाग्ने नेतृत्वले देशलाई नयाँ भिजन, नयाँ कार्यक्रम, नयाँ योजना, रूपान्तर दिन सक्दैन । अहिले देश संकटतर्फ गुज्रिरहेको छ । राजनीतिक अस्थिरता र आर्थिक अवस्था त्यस्तै संकटपूर्ण हुँदैछ,’ उनले भने ।

नेता खनालले संविधान जारी भएपछि भएको दोस्रो निर्वाचनमा वामपन्थीहरुलाई जनताले विश्वास गरेर दुई तिहाइ मत दिए पनि नेतृत्वको सनकले संसद् नै विघटन गरिएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनतर्फ लक्षित गर्दै नेता खनालले जनताले पाँच वर्ष सरकार चलाउन मत दिए पनि नेतृत्वले देशलाई स्थिरता चाहिएन भनेर संसद् विघटन गरेको बताए ।

‘संविधानपछिको पहिलो निर्वाचनले देश संवैधानिक स्थिरता प्राप्त गरिसकेको थियो । अब राजनीतिक स्थिरता प्राप्त गर्नुपर्ने थियो । जनताले महसुस गरे । र दुईवटा वामपन्थी समूहले मिलेर चुनाव लडे । दुईतिहाइ मत दिए । दुई तिहाइका सरकार बनेपछि जनताको भावना, चाहना, आकाङ्क्षा चुलिएको थियो । हामीले कृषि क्रान्ति, भूमिसुधार, शिक्षा क्रान्ति, गरिबी निर्मूलन गर्नुपर्ने थियो । उल्टै नेतृत्वले हामीले ल्याएको व्यवस्था निमठ्न खोज्यो,’।

प्रतिक्रिया दिनुहोस्