Logo

कुलमान भन्छन्: अबको दुई वर्षपछि नेपालले बिजुली किन्नु पर्दैन



काठमाडौँ, २२ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।

बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताएका हुन् ।

उनले नेपालमा उत्पादन भएको बिजुली नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पो भइरहेको बताए । बिजुली खपतका लागि चार्जिङ स्टेशन विस्तार र इन्डक्शन चुलोलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले नेपालमा नै विद्युत् खपत बढाउनका लागि ईभी एक्स्पोदेखि ईभीको प्रमोशन भएको छ । चार्जिङ स्टेशनहरू बढेको छ । प्राधिकरणले इन्डक्शन कुकिङको कुरा गरिरहेको छ । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छ ।’

कार्यकारी निर्देशक घिसिङले अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था नआउने दाबी गरे । उनले वर्षाको समयमा बिजुली निर्यात गरिरहेको भन्दै त्यसो गर्नु सरकारको सफलता नभए पनि खपत नभएको बिजुलीलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताए । उनले बिजुली खपत बढाएमात्रै देशमा समृद्धि आउने भन्दै एक युनिट बिजुली पनि खेर फाल्नु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्