Logo

कुवेतमा कारले ठक्कर दिँदा तीन नेपालीको ज्यान गयो



कुवेत, १ चैत । कुवेतमा गाडीले ठक्कर दिँदा तीन जना नेपाली नागरिकको ज्यान गएको छ ।

रमदान पर्वको पहिलो दिन सोमवार महाबुल्ला क्षेत्रको सिसाईड सडकमा एउटा कारले ठक्कर दिँदा तीन जनाको ज्यान गएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले जानकारी दिए ।

ज्यान गुमाउनेमा काठमाडौँको सानो भर्‍याङका सुजन कार्की, अछामको पञ्चदेवलका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन । मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए ।

सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । तीनैजना फर्कने क्रममा त्यहाँको स्थानीय नागरिकको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनीहरुको ज्यान गएको हो ।

अरब न्युजले भने ज्यान गुमाउनेमा दुई जना नेपाली रहेको र एक जनाको परिचय खुल्न नसकेको उल्लेख गरेको छ । गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले मृतकका परिवार तथा कम्पनीसँग सम्पर्कमा रहेको र आवश्यक प्रकृया पूरा गरेर शवहरु नेपाल पठाउने तथा बीमाको लागि पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्