बिर्तामोड, २१ वैशाख । गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले बाँडेका गुलिया प्रतिबद्धताका कारण उनीहरु आलोचित भएका छन् ।
बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई बेवास्ता गरेको गठबन्धन दलका उम्मेदवारहरुले बताएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोजित चुनावी कोणसभामा बोल्दै गठबन्धनको तर्फबाट नगर प्रमुखका प्रत्यासी भोजराज सिटौलाले गठबन्धनको टिमले विजय प्राप्त गरे कृषिथोक बजारमा कुनै हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाए । उनले नगरपालिका र व्यवसायीबीच नङ र मासुको सम्बन्धझैँ सुमधुर सम्बन्ध स्थापित गराउने बताए ।
वर्तमान सरकारले व्यवसायीहरुसँग समन्वय गर्न नसकेको भन्दै सिटौलाले गठबन्धनको टिमलाई जिताउन आग्रह गरेका छन् । गठबन्धनको टिमले विजय प्राप्त गरे आफूहरु सँधै व्यवसायीहरुको हक हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
सिटौलाले एमालेहरुले गठबन्धनले सहज जित निकाल्ने देखेपछि मतदातामा चुनाव चिन्हको बिषयमा भ्रम सिर्जना गरेर गठबन्धनलाई कमजोर पार्ने कोसिस गरेको बताए । गठबन्धन संविधान रक्षा र प्रतिगमनका विरुद्ध आवश्यकता भएको बताउँदै सम्पूर्ण गठबन्धनको टिमलाई जिताउन आग्रह गरे ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले विगतको चुनावमा मीठा सपना बाँडेका वर्तमान जनप्रतिनिधिले चुनाव जित्नेबित्तिकै आफ्नो प्रतिबद्धता भुलेको आरोप लगाए । ‘कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ,’ उनले भने,‘धुलो र हिलोरहित सफा बजार बनाउने प्रतिबद्धता जनाएका जनप्रतिनिधिको अगाडी अहिले पनि फोहोरको डंगुर छ ।’ कृषिथोक बजारको व्यवस्थापनमा स्रोतको समस्या नभएर भिजनको समस्या भएको कडरियाले बताए ।