Logo

कृषिप्रधान देश नेपालमा अहिलेसम्म कृषि ऐन नै नहुनु दु:खद: भुसाल



काठमाडौँ, २८ वैशाख । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले नेपालमा अहिलेसम्म कृषि ऐन नै नरहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश हो भन्ने गरे पनि अहिलेसम्म कृषि ऐन नै नहुनु दु:खद भएको बताएका हुन् ।

उनले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको उल्लेख गरे । उनले कृषि ऐन बनाउन सकेमात्रै पनि कृषिका कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

उनले भने, ‘हामीसँग कृषि ऐन नै छैन । भन्न त हामी कृषिप्रधान देश भन्छौँ, कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छौँ तर कृषि ऐन नै छैन । ऐन बनाउनुपर्छ भनेर अहिले मन्त्रालयले काम अघि बढाइरहेको छ ।’

मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पानमा वृद्धि गर्छु भन्नु गलत भएको बताए । उनले जतिसक्दो धेरै यन्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गरेका थिए । उनले पछिल्लो समय जनशक्तिको अभाव देखिएको बताएका हुन् ।

उनले जनशक्तिको अभावका कारण अहिले आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको बताए । मन्त्री भुसालले तराईका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन सिँचाइको सुविधा नहुँदा बाँझो रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्