काठमाडौँ, १७ भदौ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् ।
आइतवार काठमाडौँमा एक कार्यक्रममा कृषिमन्त्री भुसालले यस्तो बताएका हुन् ।
उनले कृषि नेपालका लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताए । उनले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको बताएका हुन् । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको उनको भनाइ छ ।
उनले भने, ‘कृषि क्षेत्र हाम्रो देशको एउटा मेरुदण्ड हो । हामीले उत्पादन वृद्धि गर्नुपर्छ, निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्ने हो भने कृषि उत्पादन वृद्धि गरेर नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ । कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको हो । अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन सकेको छैन । बर्खायाममा ४८ प्रतिशत जमिन सिँचाइ हुन्छ नत्र सधैँभर सिँचाइ हुने क्षेत्र भनेको १८ प्रतिशत हो । यस वर्ष हामीले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउनुपर्छ र सक्नुपर्छ भनेर शुरु गरेका छौँ ।’