Logo

केआईआईटीको होस्टेलबाट निकालिएका नेपाली विद्यार्थी फर्किन थाले, प्रकृतिको स्मृतिमा छात्रवृत्तिको घोषणा



काठमाण्डौ, ८ फागुन ।  भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू होस्टेलमा फर्कन थालेका छन् ।

छात्रावासमा बस्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि निकालिएका विद्याथीहरू फर्किन थालेका हुन् । साथी मृत भेटिएपछि निष्पक्ष अनुसन्धानको माग गर्दै नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । त्यसपछि होस्टल प्रशासनले सबै नेपाली विद्यार्थीलाई निकालिदिएको थियो ।

सोमवार, मङ्गलवार र हिजो बुधवारसमेत भएको संवादपछि झन्डै दुई सय जना विद्यार्थी फर्किसकेका छन् । नेपाल फर्किएका विद्यार्थीहरूलाई पनि कलेज प्रशासनले आउनेजाने खर्च बेहोर्ने भन्दै कलेज फर्किन आह्वान गरेको छ ।

बीटेक पहिलो वर्षदेखि पीएचडीसम्म केआईआईटीमा १४ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । घटनाको छानबिनका लागि ओडिशा प्रहरीले तीन सदस्यीय समिति पनि बनाएको छ ।

यस्तै केआईआईटीले मृतक प्रकृति लम्सालको स्मरणमा नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति दिने घोषणा पनि गरेको छ ।

यसैबीच ओडिशा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताको प्रतिबद्धता गर्नुभएको छ । उहाँले सूचना निकालेर नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताका लागि चौबीस घण्टे सहायता कक्ष राखेको जानकारी दिँदै कुनै पनि सहायता आवश्यकता परेमा सहयोग लिनसक्ने जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्