काठमाडौं, ७ फागुन । ओडिशाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनामा ६ जना पक्राउ परेका छन् । केआईआईटीका एक भारतीय विद्यार्थीसहित तीन निर्देशक र दुई सुरक्षा गार्ड मंगलबार पक्राउ परेका हुन् ।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार घटनाको छानबिन गर्न ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त-सह-सचिव सम्मिलित उच्चस्तरीय तथ्य खोज समिति गठन गरेको छ ।
१६ फेब्रुअरी साँझ कलेजको होस्टेलमा बीटेक तेस्रो वर्षकी नेपाली विद्यार्थी लम्सालको शव फेला परेको थियो । उनले आत्महत्या गरेको भनिएको थियो । लम्सालको मृत्युपछि कलेजका अन्य अन्तर्राष्ट्रिय विद्यार्थीले विश्वविद्यालय प्रशासनविरुद्ध प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय विद्यार्थीले उनलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तविरुद्ध कारबाही नगरेको विद्यार्थीहरुले भनेका छन् ।
विश्वविद्यालयले यो विषय दबाउन खोजेको पनि विद्यार्थीहरुले आरोप लगाएका छन् ।