Logo

केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ: मुख्यमन्त्री कार्की



उदयपुर, १८ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको नि:शुल्क सेवाहरु सेवाग्राहीले पाए/नपाएको अनुगमन गरेर मात्रै कटारी अस्पतालको स्तरोन्नतिका लागि अघि बढ्ने बताएका छन् ।

आज साँझ उदयपपुरको कटारीमा रहेको कटारी नगर अस्पताल परिसरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाको मागबारे मुख्यमन्त्री कार्कीले कटारी अस्पताल यस क्षेत्रको केन्द्रमा रहेकाले यसलाई सबै प्रक्रिया पुगे स्तरोन्नति गर्ने बताएका हुन् ।

अस्पतालले बिरामीलाई दिने सेवा सुविधा राम्रो हुनुपर्ने बताउँदै सेवा सबैले पाउनुपर्ने बताए । “प्रभावकारी सेवा पाए पाएनन् जनतामा पनि सर्वेक्षण गर्छौं,” उनले भने, “स्तरोन्नतिसँगै प्रभावकारी सेवाका लागि काम गर्छौं ।”

मुख्यमन्त्री कार्कीलाई अस्पतालका बारेमा जानकारी गराउँदै अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ड डा.गौरव साहले १५ शय्याको नगर अस्पताल भए पनि ५० शय्याको सेवा दिइरहेकाले प्रदेशस्तरीय अस्पताल बनाउन आग्रह गरे । “सर्पदंशको पनि उपचार गरिरहेका छौँ, उपचार सेवाको विस्तार भइरहेको छ,” डा.साहले भने, “यस अस्पताललाई प्रदेशस्तरीय बनाउन आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्