केन्या, २० भदौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले ‘क्लिन स्वीप’ गरेको छ ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो ।
केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक-एक विकेट लिएका थिए ।
यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाएका थिए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई-दुई विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले एक-एक विकेट लिएका थिए ।