काठमाडौँ, ६ असोज । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए ।
देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए ।
कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताए । “एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,” उनले भने ।
खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही. १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन् ।







