Logo

केपी ओलीको पालामा देश ऋणमय बन्यो: कांग्रेस प्रवक्ता



काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन्। नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले ओलीको पालामा ऋणमय बनेको देश अब विस्तारै अनुदानमय बन्न लागेको बताए।

‘ओलीको पालामा देश ऋणमय भयो । ऋण बढ्याबढ्यै । त्यो ऋण कस्तो ठाउँमा प्रयोग भयो भने अनुत्पादक क्षेत्रमा,’ महतले भने, ‘१९ अर्ब त उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर विश्व बैंक लगायतबाट ऋण लिएर सबै आफ्नो मान्छेहरू, कार्यकर्ताहरूलाई बाँड्नुभयो । त्यसले स्वरोजगार सिर्जना गर्‍यो न रोजगार ।’

ओलीले ऋण लिएर घ्यू खाने काम गरेको उनको आरोप छ। ‘ऋण लिएर घ्यू खाने भन्छन् त्यही काम गरे,’ महतले भने, ‘घ्यू खाएपनि सबै जनताले पाउने गरी दिएको भए त ल दियो भन्न हुन्थ्यो, केही सिमित व्यक्तिहरूले घ्यू खाए, त्यो पनि ऋण लिएर ।’

ओलीले अहिले पनि सरकारको नेतृत्व गरिराखेको भए देश श्रीलंकाको बाटोमा गइसकेको हुने उनको भनाइ छ। ‘ओली जी भइराखेको भए देश श्रीलंकाको बाटोतर्फ उन्मुख हुन्थ्यो। ऋणमाथि ऋण लिने । त्यसमा ठूलो कमिसनको खेल,’ उनले भने, ‘हामीले अब ऋणलाई प्राथमिकतामा नराख्ने, लिनै पर्ने भयो भनेपनि धेरै उत्पादनशिल क्षेत्रमा, त्यो पनि न्यून ब्याजदरमा । शून्य ब्याजदर, ०.५ प्रतिशत ब्याजदर । विश्व बैंक, एडीबीले सहुलियतदरको ऋण दिन्छ, त्यस्तो लिने ।’

वर्तमान सरकारले ऋण लिनै परेको खण्डमा सहुलियत दरमा मात्रै लिने गरेको उनको भनाइ छ। ‘कमर्सियल रेटमा ऋण लिने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने, अनि त्यहाँको लागत बढाइराख्ने, त्यसवापत कमिसन खाइराख्ने, अनि कहिल्यै तिर्न नसक्ने गरि श्रीलंकाको बाटोमा पुर्याउने दुस्चक्र थियो,’ उनले भने ।

अहिले ऋणमयबाट मुक्त देश अनुदानमय भइरहेको उनको भनाइ छ। ‘झण्डै ६० अर्ब हामीले एमसीसी अन्तर्गत अनुदान पाएका छौं। तत्कालै फेरि अमेरिकाले ८० अर्ब अनुदान दिने सम्झौता भइसकेको छ। जम्माजम्मी १४० अर्ब अनुदान अमेरिकाले दिन लागेको छ। यत्रो ठूलो अनुदान नेपालको इतिहासमा एकै पटक आएको छैन् ,’ महतले भने ।

भारत, चीन लगायतका अन्य देशबाट पनि अनुदान सहयोग आइरहेको उनको भनाइ छ। ‘भारतमा पनि प्रधानमन्त्रीद्वयको भेट भयो । त्यसपछि भारत सरकारले पनि सहयोगको हात उदारताका साथ अनुदानलाई बढाउने भएको छ,‘ महतले भने, ‘चिनियाँ विदेशमन्त्री नेपाल आउनुभयो । उहाँले पनि अनुदान सहयोग गर्ने कुरा अघि बढाउनु भएकाे छ। नेपाली कांग्रेसको सरकार बनेपछि अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बढेको छ।’

प्रतिक्रिया दिनुहोस्