काठमाडौँ, ३० असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदै हुनुन्छ। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लाग्नु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबार(असार २८)को बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ।
प्रधानमन्त्रीले विश्वासको मत गुमाए लगत्तै शुक्रबार साँझा राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरे लगत्तै नेपाली कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरिसकेका छन्।
असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिनुु भएको छ । ओली बाहेक अन्य कुनै पनि दलले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने सम्भावना नभएकाले आज नै ओली प्रधानमन्त्री नियुक्त हुने नेताहरुको दाबी छ।
राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरेका हुन्।
चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गरे लगत्तै शपथ हुने नेताहरूले बताएका छन्।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्र पद तथा गोपनीयताको शपथ लिने तयारी छ। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन्।
एमाले अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भईसक्नु भएको छ ।