Logo

केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्ने



काठमाडौँ, १७ फागुन । भारतको मानेभञ्ज्याङ फुटबल क्लबविरुद्ध ५-० को सहज जित निकाल्द मछिन्द्र फुटबल क्लब केपी ओली कप-२०८० को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन टिमका पाँच फरक खेलाडीले गोल गरे । मछिन्द्रका विमल घर्ती मगर, स्टेफन बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुश घलानले गोल गरेका थिए ।

खेलको २६औँ मिनेटमा विमलको गोलमा मछिन्द्रले अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै स्टेफन बिनोङले मछिन्द्रको अग्रता दोब्बर पारे । ३५औँ मिनेटमा हिसुबले गोल गरेपछि पहिलो हाफमा मछिन्द्रले ३-० अग्रता लिएको थियो ।

५३औँ मिनेटमा देवेन्द्र तामाङको गोलमा मछिन्द्रले अग्रतालाई ४-० मा पुर्‍यायो । यस्तै, इन्जुरी समयमा आयुशले गोल गरेपछि साविक विजेता समेत रहेको मछिन्द्रले ५-० को सहज जितसहित लगातार दोस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।

मछिन्द्रले अब उपाधिका निम्ति न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ । एनआरटीले आजै भएको पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लबविरुद्ध ३-० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्