झापा, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको बताएका छन् । आज गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको बताएका हुन् ।
गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको उनले बताए। विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु गठबन्धनको उद्देश्य भएको उनको भनाइ थियो । देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको उनले बताए । उनले प्रजातन्त्र पुनर्स्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको बताए । उनले कांग्रेसले केही गर्न नचाहेको बताए ।
कांग्रेसलाई विरोध गर्न मात्र आउने उनको भनाइ थियो । ‘ढलेको धरहरा हामीले उठायौँ । तर, सेतो भ्युटावर भन्दा केही पनि हैन रे । उनीहरू हरेक कुरालाई नकारात्मक ढंगले हेर्छन् । धरहरा बनेकोमा पिर परेको छ,’ उनले भने, ‘रानीपोखरी बनेकोमा पिर परेको छ । पुनर्निर्माण भएकोमा पिर परेको छ । पुरातात्विक महत्त्वका सामग्री निर्माण भएको र नौ लाख भूकम्पपीडितलाई घर बनाइदिएकोमा पिर परेको छ । मदन भण्डारी राजमार्ग र हजारौँ पुल बनेकोमा पीर परेको छ ।’
हुलाकी राजमार्गअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा मात्र २७ वटा पुल बनेकाले के भनेर भोट मागेर जाने भन्नेमा संकट परेको अध्यक्ष ओलीले बताए । उनले कांग्रेसलाई लोकतन्त्रको बाटोमा फर्कन आग्रह गरे। ‘कांग्रेसलाई अझै पनि लोकतन्त्रको बाटोमा फर्कनसचेत गराउन चहान्छु । लोकतन्त्रविरोधी अनेक जालझेल नगर्नुुस् । संसद्बाट सरकार बनाउने बाटोमा फर्कनुस् । जालझेल गरेर अदालतमा सेटिङ मिलाएर परमादेशबाट प्रधानमन्त्री खाने कुबुद्धि नआओस्,’ अध्यक्ष ओलीले भने, ‘कमसेकम हामीले प्रतिस्पर्धी त पाउँ । यहाँ त प्रतिस्पर्धी नै नहुने भयो । एमालेलाई अगाडिबाट देख्यो कि भागरेभाग । चुनाव आयो कि, सरकार चलाउन पर्यो कि सबै धुरिन्छन् ।’
उनले दमकको विकासका लागि एमाले नै चाहिने बताए ।एमालेकै नेतृत्वले दमक विश्वमा चिनिएको दाबी गरे। ‘एमालेको लालकिल्ला दमकमा एमालेलाई पाँच दलीय गठबन्धनले नभएर राप्रपासहितको ६ दलीय गठबन्धन बनाएका छन्,’ उनले भने, ‘दमकमा पार्टी नहेर्नुस् । विकासका लागि एमालेलाई जिताउनुस् ।’