काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुवाँ प्रवेश नगरोस भन्ने कामना गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले मध्यपूर्वी देशहरूको आकाशबाट बर्सिएका मिसाइलका दृश्यले आफूलाई विचलित बनाएको उल्लेख गरेका छन्। ती देशहरूमा रहेका लाखौँ नेपाली नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले उनीहरूका परिवार नेपालमा असहज मनस्थितिमा बस्न बाध्य भएको बताएका छन्।
विश्व खुला बन्दै जाँदा अवसरको खोजीमा नागरिकहरू विभिन्न देशमा आवतजावत गर्नु स्वाभाविक भएको उल्लेख गर्दै ओलीले अस्वाभाविक र खतरनाक पक्ष भनेको युद्ध र भूराजनीतिक चपेटा भएको टिप्पणी गरेका छन्। सम्बन्धित देशहरू युद्ध चाहँदैनथे पनि शक्तिराष्ट्रहरूको स्वार्थका कारण द्वन्द्व चर्किएको संकेत उनले गरेका छन्।
नेपालले अहिलेसम्म यस्तो परिस्थिति भोग्नु नपरेको उल्लेख गर्दै उनले यसलाई सौभाग्यका रूपमा लिनुपर्ने बताएका छन्। साथै, बदलिँदो विश्व परिस्थितिप्रति सबैलाई सजग र धैर्य रहन उनले आह्वान गरेका छन्।







