Logo

केही जिल्लामा धेरै बजेट विनियोजन भएको भन्ने आरोपमा कुनै सत्यता छैन्: ज्वाला



काठमाडौँ, १० असार । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले केही जिल्लामा धेरै बजेट विनियोजन भएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

उनले भने, “केही सांसदले पहुँचवाला नेताको ठाउँमा धेरै बजेट विनियोजित भएको टिप्पणी गर्नु भएकोतर्फ मेरो ध्यानाकर्षण भएको छ । वैकल्पिक सहायक राजमार्गको एउटा बजेट शीर्षकलाई लिएर यो टिप्पणी गरिएको हुनसक्छ तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कूल बजेटलाई हेर्ने हो भने त्यस्तो अवस्था देखिँदैन ।”

उनले वैकल्पिक सहायक राजमार्गको रु पाँच अर्ब १७ करोडको बाँडफाँटलाई मात्र हेरेर समग्र बजेट बाँडफाँटको अवस्था बारे धारणा नबनाउन आग्रह गरेका छन् ।

काठमाडौँ-तराई मधेस द्रुतमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र केही जिल्लामा पूर्व-पश्चिम राजमार्ग तथा उत्तर-दक्षिण कोरिडोरले सम्बोधन गरेको उनले जानकारी दिए ।

मन्त्रालयको बजेट सिलिङ चालु आवको भन्दा रु ३७ अर्ब घटाइएकोले बजेट बनाउन र सन्तुलन कायम गर्न ज्यादै कठिनाइ भएको उनको भनाइ छ । समय र बजेट कटौतीको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा आफूलाई दु:ख लागेको मन्त्री ज्वालाले उल्लेख गरेका थिए ।

ठेक्का लागिसकेका आयोजनामा त्यसको दायित्व भुक्तानी गर्न पुग्ने बजेटका लागि प्रयास गर्ने तथा मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय महत्त्व तथा रणनीतिक महत्त्वका राजमार्गमा बजेट सुनिश्चितता भई ठेक्कामा लागेका काम तीव्ररूपमा अगाडि बढाइने छ ।

सो राजमार्ग आयोजनाअन्तर्गतका निर्माणधीन सडक स्तरोन्नति तथा पुल निर्माणका ठेक्कामार्फत निर्माण कार्य सञ्चालनमा भइरहेकोमा न्यून बजेट विनियोजनका कारणले सम्पन्न कार्यको समेत भुक्तानी हुन नसक्दा तथा रुख कटानको कारणबाट समेत निर्माण कार्य केही सुस्त हुन पुगेको मन्त्री ज्वालाको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कुनै पनि शीर्षकमा एकमुष्ट बजेट नराखिएको जानकारी दिँदै उनले सबै क्रियाकलाप विनियोजित बजेटमा प्रविष्ट गरिएको र अन्य कुनै पनि शीर्षकमा बजेट नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्