Logo

‘केही ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्दैमा राजनीतिक दलहरू नै सकिए भन्न मिल्दैन’



काठमाडौँ, ९ जेष्ठ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौँमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेले पाँच वर्षमा गरेका कामहरूको कर्तुत भएको जिकिर गरेका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली कांग्रेससमेत परेको बताए ।

प्रवक्ता महतले केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा नेपाली कांग्रेस र राजनीतिक दलहरू नै सकिएको भन्ने मूल्याङ्कन गर्न नमिल्ने बताए ।

उनले काठमाडौँमा राजनीतिक दलहरू स्वतन्त्र उम्मेदवारसामु निरीह बन्नु एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया भएको दाबी गरेका छन् ।

प्रवक्ता महतले भने, ‘अपवाद जहिल्यै हुन्छ चुनावमा । केही अपवादलाई लिएर पार्टीहरू, नेपाली कांग्रेस असफल भयो भन्ने कुरालाई निष्कर्ष मान्न सकिँदैन । युवाहरू किन असन्तोष छन्? ती कुरामा कांग्रेसले सोच्नेछ । केही ठाउँमा अपवाद आउँदैमा नेपाली कांग्रेस र पार्टीहरू नै सकिए भन्न मिल्दैन । हामी यसबाट सिक्नेछौँ । कहिलेकाहीँ विभिन्न खालको हावा चल्छ, मानिसलाई केही गर्छ कि भन्ने चाहना हुन्छ । काठमाडौँमा पनि त्यही भएको हो । ओलीजीको घानमा नेपाली कांग्रेस परेको मात्रै हो । एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया स्वरूप हामीले पनि बेहोरेका छौँ ।’

यसैबीच प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा कांग्रेस र गठबन्धन दलहरूका लागि सन्तोषजनक रहेको बताए । उनले पार्टी र गठबन्धनमा रहेका दलहरूका लागि चुनाव सन्तोषजनक रहेको बताएका हुन् । प्रवक्ता महतले तालमेल गरेर प्रतिस्पर्धा गरेका ठाउँमा गठबन्धनका दलहरूले ठूलो सफलता हात पारेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्