Logo

के चोलेन्द्र शम्शेरलाई गाली बेइज्जती मुद्दा लाग्न लाग्छ



काठमाडौँ, १८ भदौ । हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूमाथि विचाराधीन महाभियोग प्रस्तावबारे संसदीय समितिमा बयान दिने क्रममा सहकर्मी न्यायाधीश, कानुन व्यवसायी र कतिपय नेताहरूमाथि पनि विभिन्न किसिमका आरोप र लाञ्छनाहरू लगाएका छन् ।

संसद‍्‌को महाभियोग सिफारिस समितिमा बोल्दै उनले कतिपय व्यक्तिको नाम नै किटेर न्यायाधीशमा कोटा मागेको, मुद्दा जिताइदिन भनेको र मुद्दाको पक्षमा निर्णय लिन दिएको दबाव अस्वीकार गरेका कारण आफूमाथि महाभियोग दर्ता गरिएको आरोप लगाएका छन् ।

उनले लगाएका आरोपहरू कतिपय व्यक्तिहरूमाथि मानहानि हुन सक्ने किसिमका रहेका र त्यस्ता आरोप सही नठहरिएको अवस्थामा उनीमाथि गाली बेइज्जतीको अभियोग समेत लाग्न सक्ने दाबी केही कानुनविद्हरूले गरेका छन् ।

महाभियोग सिफारिस समितिमा बयान नसकिएका कारण जबराले थप व्यक्तिहरूलाई आरोपित गर्न सक्ने आकलन गरिएको छ ।

जबराले आरोपित गरेकामध्ये एक नेपाल बार असोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीशले ‘सीमाभन्दा बाहिर गएर आरोप लगाएको’ भन्दै कसैले पनि कानुनी उपचार खोज्न सक्ने बताए ।

‘प्रमाणबिनाको कुरा गरेको देखियो भने त्यस्तो अवस्थामा मानिसहरूले कानुनी उपचारको बाटो पनि खोज्न सक्छन्,’ श्रेष्ठले भने।

‘कसैलाई आफ्नो गाली बेइज्जती भएको महसुस भयो भने त्यस्तो अवस्थामा त्यो ऐनको प्रयोग गरेर जान सक्छ ।’ यद्यपि श्रेष्ठले आफूलाई पनि जबराले लाञ्छना लगाएको भए पनि उनीविरुद्ध मुद्दा गर्नेबारे सोच नबनाएको बताए । बिबिसी न्यूज नेपालीबाट

प्रतिक्रिया दिनुहोस्