काठमाडौँ, १८ जेठ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ ।
सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो ।
आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिइन् ।
कारागारका कैदीबन्दीले सजाय भुक्तान गरिसकेपछि पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिककार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष ओलीले बताइन् ।
उक्त कार्यक्रम यही जेठ २२ गतेदेखि सुरु हुनेछ । यो कार्यक्रम एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । यो कार्यक्रमबाट एक वर्षभित्र कूल ४८ खेलाडी तथा ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ ।