कैलाली, ५ पुस । कैलालीमा फेरि गोली चलेको छ ।
नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज दुई राउण्ड गोली चलेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका छन् । गोली लागेर शिवरामनगर टोलका स्थानीय प्रजापति विष्ट घाइते भएका हुन् ।
घाइते विष्टले घरमा चोरी गर्न आएको समूहको गोली प्रहार गरेको र आफूले प्रतिकार गर्न खोज्दा चोरहरूले गोली चलाएको दाबी गरेका छन् ।
यस्तै उनले घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेको बताए । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूले अर्को राउन्ड फायर गरेका थिए ।
यता प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । गोली चलाउनेहरूको समूहमा चार जना रहेको तर उनीहरूको पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
यसअघि कैलालीकै अत्तरियामा गोली चलेको थियोे । गोली लागेर त्यहाँ एक सुन व्यापारी घाइते भएका थिए । सो घटनाको पनि छानबिन जारी छ ।






