Logo

कोइरी फर्मको मेवा र अनारस कुहिन लाग्यो ! उपाय केही छ सरकार ?



झापा, १७ चैत । भद्रपुर वडा नम्बर ९ को कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्मले उत्पादन गरेको लाखौँ मूल्यका मेवा र अनारस बगानमै कुहिने अवस्थामा पुगेको छ । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न लकडाउन गरेपछि फर्ममा उत्पादित तरकारी र फलफुल बजारसम्म पूर्याउन नसक्ता कुहिने अवस्थामा पुगेको हो ।

भद्रपुरको डाँगीबारीमा रहेको फर्मले अग्र्यानिक तरकारी, अनारस, मेवा लगायतका कृषिजन्य उत्पादन गर्दै आएको छ । उत्पादित फलफुल काठमाडौँ र बनेपाका जुस उद्योगलाई बिक्री गर्दै आएको सञ्चालक मनोज सिंह कोइरीले बताए । उनले भने, फ्याक्ट्रीमा पूर्याउन नसक्ता सहुको ऋणले भतभती पोल्न थालेको छ ।

परिवारका चार दाजु भाइसहित दर्जन बढीको रोजी रोटी जोडिएको फर्ममा ५ बिगाह क्षेत्रफलमा अनारस, ४ विगाह क्षेत्रमा अग्र्यानिक चिया, २ विगाहमा मकै, कागती, मेवा, बेसार, मौसमी तरकारी लगायत खेती हुँदै आएको छ ।

बाबु बाजेको कृषि पेशालाई व्यवसायिक रूप दिँदै मनोजले पुख्र्यौली र केही भाडामा लिएको जमिनमा ४ वर्षदेखि कृषि उत्पादन गर्दै आएका छन् । फर्ममा काम लगाउन लकडाउनले समस्या नभएपनि उत्पादित फलफुल र तरकारी बेच्न नपाउँदा समस्या भएको बताए । उनले फलफुल कुहिने अवस्थामा पुगेका बताए ।

विषदी र रसायनको प्रयोग नगरी उत्पादन गरिरहेको कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्मले राज्यबाट कुनै सहयोग र सहुलियत नलिएको मनोजले बताए ।

प्रतिक्रिया दिनुहोस्