Logo

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै



काठमाडौं, ८ कार्तिक । नेपालीको प्रमुख चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाउँदै सम्पन्न हुँदैछ। आश्विन शुक्ल पूर्णिमाको साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।

१५ दिनअघि आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गा पक्ष कोजाग्रत पूर्णिमासँगै समापन हुने गर्छ। यस दिन महालक्ष्मीको पूजा गरी जाग्राम बसेमा देवी घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आजै सम्पन्न हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम समाप्त हुन्छ। घरमा राखिएको जमरा नजिकको नदी, तलाउ वा पोखरीमा विसर्जन गर्ने परम्परा पनि छ।

समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक मान्यता रहिआएको छ। यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गर्ने परम्परा छ।

यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। लक्ष्मीपूजाभन्दा १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यसको विशेष धार्मिक महत्त्व रहेको छ। शास्त्रीय मान्यताअनुसार यस रात जुवा खेल्ने विधानसमेत उल्लेख गरिएको छ।

नवरात्र विजयादशमीकै दिन समाप्त भए पनि समग्र दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमामा आएर पूरा हुन्छ।

यसैबीच, कार्तिक स्नान तथा तुलसीको विशेष पूजा आराधना कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। आकाशदीपदान पनि सोही दिनको साँझदेखि सुरु गरिनेछ।

प्रतिक्रिया दिनुहोस्