
काठमाडौँ, ११ चैत । कोरोना भाइरस संक्रमणबाट जोगिन युरोप अमेरिका लगायतका पश्चिमा देशमा तीन फिटको दुरीमा रहेर व्यवहार गर्ने अभ्यास सुरु भएको छ । यसलाई सोसल डिस्टेन्सको नाम दिइएको छ । विश्वस्वास्थ्य संगठनले पनि कम्तिमा तीन फिटको दुरी कायम गरेर एकअर्कामा व्यवहार गर्न आग्रह गरेको छ ।
पश्चिमा मुुलुकमा अंकमाल र चुम्बन गर्नुलाई सामान्य मात्र मानिँदैन, सभ्य र शिष्टताको प्रतिक पनि ठानिन्छ । पूर्वमा पनि हात मिलाउने, चुम्बन र अंकमालको अभ्यास सुरु भएको छ । यसो नगर्ने नयाँ पुस्ताका व्यक्ति असभ्य र पाखे दरिन थालेका छन् । तर, पश्चिमा मुलुकमा भूसको आगो झैँ कोरोना भाइरस संक्रमणमा हात मिलाउने, अंकमाल र चुम्वनले पनि सहयोगी भूमिका खेलेको निस्कर्ष निस्किएपछि सोसल डिस्टेन्सको अभ्यास सुरु भएको हो ।
कोरोना भाइरस संक्रमणको (कोभिड १९) फैलावटलाई कम गर्न सोसल डिस्टेन्सको अभ्यास सुरु भएको हो । पूर्वीय सभ्यतामा नमस्कार परम्परागत अभ्यासमा थियो । तर, बिस्तारै पश्चिमा सभ्यताको प्रभावले नमस्कार ओझेलमा पर्दै गएकोमा कोरोना संक्रमणका कारण पुनःजीवन पाएको छ । मानिस अहिले अंकमाल गर्ने, हात मिलाउने वा चुम्बन गर्ने भन्दा नमस्कार गर्न थालेका छन् ।
पूर्वमा नमस्कारको पुनः अभ्यास गर्न खासै समस्या भएन, तर पश्चिमाले पनि नमस्कारको अभ्यास गरिहेरे तर त्यो निकै असहज देखियो । एकदुई दिन मनोरञ्जनको लागि ट्रम्पदेखि विश्वका नेताले नमस्कारको अभ्यास गरेपनि त्यसले निरन्तरता पाएन ।
उनीहरुले हात मिलाउने, चुम्बन र अंकमाल नगर्न भन्दै संक्रमणबाट बच्न सोसल डिस्टेन्सको अवधारणा अघि सारेका छन् । भविश्यमा पश्चिमका लागि पनि अभिवादनको विकल्प नमस्कार हुन सक्छ । तर, अहिले उनीहरुले अभिवादनलाई स्थगित गरेका छन् । सोसल डिस्टेन्स कायम गरेका छन् ।
सोसल डिस्टेन्सको अवधारण पश्चिमका लागि मात्र होइन, पूर्वका लागि पनि उत्तम हुन सक्छ । कसैसँग भेट गर्दा, कुरा गर्दा, कुनै कार्यालयमा जाँदा वा लाइनमा बस्दा कम्तिमा तीन फिटको दुरीमा उभिने वा बस्ने कुरा संक्रामक रोगबाट बचाउने नयाँ उपाय हो । निकटताले एकअर्कामा सर्नसक्ने कुनैपनि संक्रामक रोगबाट जोगाउन सक्छ ।
सोसल डिस्टेन्सको अभ्यास नेपाली समाजका लागि पनि उपयोगी हुनसक्छ । यसको अभ्यासमा केही समय सकस होला तर परणाम राम्रो नै हुन्छ । पूर्वमा अभिवादनका लागि नमस्कारले सहजता कायम गरेको छ ।