Logo

कोरोनाको नयाँ भेरियन्ट नेपालसहित ४० भन्दा धेरै देशमा फैलियो



काठमाडौँ, २८ पुस । नेपालमा कोरोना भाइरसको नयाँ सब-भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो ।

विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) का अनुसार कोरोनाको नयाँ सब-भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको छ ।

नेपालमा कोरोनाको नयाँ सब-भेरियन्ट पहिलेको जस्तै फैलिने हो की भन्ने धेरैले आशङ्का छ । डबलुएचओले पनि यो भाइरसलाई कम घातका रूपमा वर्गीकरण गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडको बिरामीको भर्ना र उपचार गराउने बिरामीको दर बढ्दै गएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले अस्पतालमा पछिल्लो समय ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने जस्ता लक्षण लिएर बिरामी आउने गरेको जानकारी दिए ।

उनी भन्छन्,“पछिल्लो समय रुघाखोकी, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने जस्ता लक्षण लिएर अस्पतालमा आउने गरेका छन् । यस्ता लक्षण सबै भाइरसजन्य रोगमा हुन्छ जाँच गरेपछि मात्र कोरोना हो या होइन पत्ता लगाउन सकिन्छ”

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान हुने यो भेरियन्टका मुख्य लक्षण हुन् । यो भाइरस धेरै सङ्क्रमण भएपनि कम घातक भएको डा.पुन बताउछन् । तर,जोखिम वर्ग ज्येष्ठ नागरिक, गर्भवती महिला, स्वास्थ्यकर्मी, रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो भाइरसको जोखिम बढी भएको उनको भनाई छ ।

उनी भन्छन्,“वृद्धवृद्धा,दीर्घरोगी, गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा या रोग घातक हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्छ ।”

वृद्धवृद्धा,दीर्घरोगी, गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई रोगको जोखिम कमगर्न कोरोना विरुद्धको खोप लगाउन चिकित्सकको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्