काठमाडौँ, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् ।
छिमेकी मुलुकमा देखिएको बिएफ-७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ-७ नामक भाइरस देखिएको छैन ।
मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ । सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ ।







