
नोबेल कोरोना भाइरस नियन्त्रणका लागि विश्व नै लकडाउनमा छ । नेपालमा पनि लकडाउन जारी छ । लकडाउन भाइरसको औषधि होइन, तर संक्रमण चौतर्फी नफैलियोस् र महामारीको रुप नलिओस् भनेर गरिएको हो । संसारमा कोरोनासँग लड्ने लकडाउन पहिलो विकल्प बनेको छ ।
नेपालमा आजसम्म ४५ जनामा संक्रमण देखिइसकेको छ भने ७ जना निको भएर घर फर्किसकेका छन् । उनीहरुको अवस्थापनि सुधारोन्मुख रहेको चिकित्सकले बताउँदै आएका छन् । कोरोनासँगै नयाँ वर्ष २०७७ साललाई हामीले स्वागत गरिसकेका छौँ । नयाँ वर्ष लागेसँगै नेपालीका विभिन्न चाडपर्वको सुरुवात हुने गर्दछन् । नयाँ वर्षसँगै भित्रिने एउटा महत्वपूर्ण चाड हो मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । जुन आज मनाउँदैछौँ । लकडाउनका कारण घर बाहिर निस्केर हिँड्ने सहज वातावरण छैन । यद्धपि हामीसँगै वा नजिकै हुनेले भेटेर,टाढा हुनेले फोन र सामाजिक सञ्जालका माध्यमबाट मातातीर्थ आँैसी मनाइरहेका छौँ ।
सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमा तिरस्कृत हुने गर्छिन् । पारिवारिक कारण आमालाई बृद्धाश्रममा छाडिन्छ। भविष्यमा आफू पनि आमा भइन्छ भन्ने ख्यालै गरिँदैन । छोराछोरीले आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका मिष्ठान्न भोजन खुवाउने र उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । नौ महिनासम्म गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान् छिन् ।
आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानीनजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् । जन्मपछि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही छैन । यस्ती आमाको त्याग, तपस्या र बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ । आमाबिना सृष्टि सम्भव छैन। आमाको उपकाररूपी ऋण कसैगरे पनि तिर्न सकिन्न । तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भए पनि मातृत्वप्रतिसम्मान प्रकट गर्न सकिन्छ ।
आमा, बुबा र गुरु देवता समान हुन्छन् । आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ । पुत्र कुपुत्र हुनसक्छ तर माता कदापि कुमाता हुन सक्दिनन्। त्यसैले नै माताको महिमा ठूलो छ यो संसारमा। हिन्दू मात्र होइन, विश्वका धर्मशास्त्रमा आमाको स्थान उच्च छ र रहिरहनेछ। गुरु पण्डित, पिताभन्दा जन्म दिने आमाको स्थानअझ उच्च छ। आमाकै महिमाका कारण मातातीर्थ औँसीका दिन आमाप्रति सम्मान र आदर गर्ने र आमाबाट आशिर्वाद लिने गरिन्छ।
आमा शब्दले नै भन्छ कि हामीले आमाको उच्च सम्मान गर्नुपर्छ । तर, समाजमा आमा शब्दको वास्तविक अर्थ, अर्थहीन हुँदै गएको छ । सामाजिक सञ्जाल फेसबुकमा धेरैले आमाप्रति विभिन्न भावना र सम्झना व्यक्त गर्नु नराम्रो कुरा होइन । तर, मातातीर्थ आँैसीका दिन मात्र सामाजिक सञ्जालमा फोटो राखेर आमाको सम्मान हुँदैन ।
आमाको दःुख कष्टमा मल्हम लगाई खुसी राख्ने सन्तान नै महान हुन्छन् । सम्झन त आमालाई बृद्धाश्रम पठाउनेले पनि सम्झेकै छन् । एक दिन मिठोमसिनो खुवाएर साँझमा बृद्धाश्रम पठाएर आमाको सम्मान हुँदैन ।
आमालाई मातातीर्थ औँसीमा एक दिन मात्र होइन, ३६५ दिन नै सम्झन सक्यौँ भने मात्र आमाको वास्तविक सम्मान हुन्छ ।प्रत्येक दिन दिन आमालाई स्नेह गर्न सकेमात्र आमाको सम्मान हुन्छ । एक दिने देखावटीमाया र सम्मानको अर्थ हुँदैन । सम्पुर्ण आमाहरुमा मातातीर्थ औँसीको शुभकामना ।