काठमाडौँ, २ वैशाख । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताएका छन् ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेको मुख्य भूमिकाको प्रशंसा गरेका थिए ।
अध्यक्ष नेम्वाङले भने, “लामो युद्ध समाप्त गर्न तपाईँको उत्कृष्ट प्रयासको हामी प्रशंसा गर्दछौँ ।” शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएकामा प्रोत्साहनस्वरुप सन् २०१६ मा राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सरकार र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क) लगायत विभिन्न सशस्त्र समूहबीचको ५० वर्षभन्दा लामो सशस्त्र सङ्घर्ष अन्त्य भएको थियो । नेपालले पनि १० वर्ष लामो सशस्त्र सङ्घर्ष सन् २००६ मा शान्ति सम्झौतामार्फत अन्त्य भएको प्रसङ्ग जोड्दै अध्यक्ष नेम्वाङले त्यसपछि नेपाल थप दिगो शान्तितर्फ उन्मुख भएको बताए ।
शान्ति प्रक्रियाको आधारभूमिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, समावेशी लोकतान्त्रिक प्रावधान र प्रगतिशील विषयवस्तुसहितको नयाँ संविधान जारी भएको छ । त्यस्तै पूर्वलडाकुको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको छ । नेम्वाङले भने, “नेपाली जनताले मलाई संविधान निर्माण गर्ने दुवै संविधानसभाको अध्यक्षता गर्ने ऐतिहासिक अवसर प्रदान गरेकामा म प्रशन्नता व्यक्त गर्दछु ।”