झापा, २६ माघ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी कोशी–पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।
समूह ‘बी’ अन्तर्गत आज भएका दुई खेलपछि भारतको लखनउ र नेपालको डडेल्धुराले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
पहिलो खेल: डडेल्धुराको सहज जित
पहिलो खेलमा पोखराले पहिले ब्याटिङ गर्दै १७.४ ओभरमा सबै विकेट गुमाएर ८५ रन बनायो। डडेल्धुराका अय्यर र युवराज खत्रीले समान २–२ विकेट लिए। पोखराका तर्फबाट दीपकप्रसाद डुम्रेले सर्वाधिक ३० रन जोडे।
जवाफमा डडेल्धुराले उत्कृष्ट ब्याटिङ गर्दै १०.३ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सन्नी विकले आक्रामक ४८ रन (३ छक्का, ५ चौका) प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्याए। पोखराका सुवास भण्डारी, कृष्ण पौडेल र उद्धव दाहालले समान १–१ विकेट लिए।
दोस्रो खेल: लखनउ ४८ रनले विजयी
दोस्रो खेलमा लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४६ रन बनायो। जवाफमा सिक्किम १९.२ ओभरमा अलआउट हुँदै ९८ रनमै सीमित रह्यो। यससँगै लखनउले ४८ रनले जित हात पार्यो।
लखनउका रमन कदयामले सर्वाधिक ४८ रन बनाए भने सिक्किमका ऋषभ राठौडले २८ रन जोडे। बलिङतर्फ सिक्किमका अक्षय सेनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए भने लखनउका चार जना बलरले समान २–२ विकेट लिए।
आयोजक क्लबका संयोजक गौरव सुब्बा (मनोज)का अनुसार मंगलबारका खेलसँगै समूह चरणका सबै खेल पूरा हुनेछन्। टी–२० विश्वकप चलिरहेका बेला पनि प्रतियोगितामा दर्शकको उल्लेखनीय उत्साह देखिएको उनले बताएका छन्।







