
झापा, २२ माघ । भद्रपुरमा जारी कोशी पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा भारतको राइनोल्यान्ड क्रिकेट एकेडेमी असमले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाएको छ।
भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा असमले भारतकै क्रिकेट कोचिङ उपाध्याय एकेडेमी नयाँ दिल्लीलाई १५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। यस जितसँगै असमले प्रतियोगितामा ४ अंक जोडेको छ। यसअघि उद्घाटन खेलमा असमले काठमाडौंलाई पराजित गरेको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको असमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो। जवाफमा नयाँ दिल्ली १८.१ ओभरमै अलआउट हुँदै ११२ रनमा सीमित भयो।
असमका तर्फबाट अरुण सोनारले सर्वाधिक ३४ रन बनाए। बलिङतर्फ नयाँ दिल्लीका सबकिर मलिकले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए।
नयाँ दिल्लीका लागि इसराद मलिकले सर्वाधिक ३० रन जोडे। असमका बलर अरुण सोनारले ३.१ ओभरमा १३ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।
खेलमा सर्वाधिक रन र सर्वाधिक विकेट लिने असमका अरुण सोनार ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। उनलाई कोशी प्रदेश सरकारका मन्त्री प्रभा ढकालले पुरस्कार प्रदान गरेकी थिइन्।






