मोरङ, १६ वैशाख । सरकारी सहीछाप किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनले आत्मसमर्पण गरेकी छन् ।
उनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी हुन् । लगत्तै उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवं प्रवक्ता रञ्जन दाहालले जानकारी दिए ।
उनी ६ वर्षदेखि फरार रहेकी थिइन् । प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । साथै उनका श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिबानाको फैसला सुनाइएको थियो ।
यो मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो । खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् ।
जिल्ला अदालतको फैसलाविरुद्ध उनले २०७४ भदौमा उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् । उच्च अदालतले खातुनका श्रीमानलाई मात्रै सफाइ दियो भने खातुनविरुद्ध एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिबानाको फैसला सुनायो ।
दुई कर्मचारीविरुद्ध भने जिल्ला अदालतकै फैसला सदर भएको थियो । उनीहरुले जेल सजाय काटिरहेका छन् । खातुन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगे पनि सर्वोच्चबाट निस्सा नपाएपछि सांसद पद खारेज भएको थियो ।







