विराटनगर, ३० चैत । कोशी प्रदेशको प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिशपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।
‘संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७९-१२-२९ गतेको सिफारिशमा संवत २०७९ साल चैत २९ गते बुधबार रातको १२ बजेदेखि प्रदेशसभाको चालू प्रथम अधिवेशन अन्त्य गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव माधव घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ।
गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम कोशी नामकरण गरेको थियो भने दुई अध्यादेशलाई कानूनको रुप दिएको थियो ।
अघिल्लो सरकारले जारी गरेको प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेशलाई प्रदेशसभाले स्वीकार गर्दै कानूनको रुप दिएको थियो । त्यसबाहेक प्रदेश सरकारले कुनै विधेयक प्रदेशसभामा पेश नगरेकोले बैठक बस्न सकेको थिएन ।