Logo

कोशी प्रदेशको तेश्रो अधिवेशन आह्वान



विराटनगर, ११ असार । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको तेश्रो अधिवेशन आह्वान गरेका छन् ।

कोशी प्रदेश मन्त्रिपरिषदको सिफारिसमा कोशी प्रदेशसभाको तेश्रो अधिवेशनको लागि असार १४ गते प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन् ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन चलिरहेको बेला आफू अल्पमतमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ ३१ गते अधिवेशन अन्त्यको निर्णय गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेश मन्त्रिपरिषदको मिति २०८०/३/१० को सिफारिसमा कोशी प्रदेशसभाको तेश्रो अधिवेशनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० साल असार १४ गते बिहीबार दिनको १:०० बजे कोशी प्रदेश सभाहल, विराटनगरमा आह्वान गर्नुभएको छ ।’

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सरकारमा सहभागी दलले सरकारबाट बाहिरिएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्