काठमाडौँ, २५ साउन । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन् ।
बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताएका हुन् ।
बुधबार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तनका लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने उद्घोष गरेका थिए ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोशी प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताएका हुन् । उनले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरी दृढतापूर्वक उभिने बताए ।
उनले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धि पनि आफूहरुकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गरे । उनले आफूहरुकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताए ।
उनले भने ‘हिजो अस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला । एकजना मित्रले भन्नुभयो अर्कोपटक ०८४ मा हामीलाई भोट हालेर जिताउनुभयो भने म यो कोशी प्रदेशको नाम नै फेरिदिन्छुु। हामी त्यसरी शर्तबन्दी गर्दैनौँ । नेकपा(एमाले) शर्तबन्दी गर्दैन । यो देशका विविध जाति, भाषा, धर्म, संस्कृतिका जनताका हितमा नेकपा (एमाले) जहिलेसुकै दृढतापूर्वक उभिएको छ । आउने दिनहरुमा पनि दृढतापूर्वक उभिन्छ ।’







