Logo

कोशी प्रदेशमा आर्थिक अध्यादेश सर्वसम्मत पारित



विराटनगर, २ भाद्र । कोशी प्रदेश सभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मत पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम (१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए ।

उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेश गर्दा शुक्रबारको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गरेनन् । मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा संकल्प लिनुपर्ने धारणा राखेका थिए ।

बैठकमा उपसभामुख दनुवारले निवर्तमान सभामुख बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्र र प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गरेर सुनाएकी थिइन् ।

प्रदेश सभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्