विराटनगर, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले कोशीमा देखिएको संकट समाधानका लागि एमाले-कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् ।
‘कोशीमा जे रोपिएको थियो त्यसको फल लाग्ने कुरा हो । त्यो देखिरहेको छ । हामी कुनै पक्षमा नलाग्दा प्रदेश सभा नै विघटन हुनसक्ने परिस्थिति देखिन थालेको छ । तर, त्यो कुन बेला हो भने कांग्रेस एमाले मिलेन भने त्यो अवस्थामा मात्रै हामी कतै लागिदिए हुन्थ्यो भन्ने कुरा हो । अहिलेको संस्थापकहरू मिलेर यो प्रदेशसभालाई जोगाए राम्रो हुन्थ्यो । त्यसको मौका अझै छ नि । ३० दिन छ त्यसपछि फेरी अन्य धारा बाँकी छ । मेरो शुभकामना छ-कांग्रेस एमाले मिलेर गरोस्,’ उनले भने ।







