विराटनगर, ११ भदौ । कोशी प्रदेशमा सोमबारदेखि बजेट ‘होलिडे’ भएको छ ।
प्रदेश सरकार मातहतका कार्यालय र परियोजना आजदेखि बजेटविहीन भएसँगै प्रदेशमा बजेट होलिडे भएको हो ।
प्रदेशसभाबाट समयमै चालू आर्थिक वर्षको बजेट पारित नभएपछि गएराति १२ बजेदेखि कोशी प्रदेश सरकार मातहतका कार्यालयबाट बजेट खर्च गर्न बन्देज लागेको छ । गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याएका थिए । अध्यादेश १४ असारमा प्रदेश सभामा पेश भएको थियो ।
प्रदेश सभामा पेश भएको अध्यादेश ६० दिनभित्र पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट पारित समेत नभएको र नयाँ बजेट समेत आएको छैन । मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले कामचलाउका रूपमा दीर्घकालीन महत्त्वका काम नगर्न अन्तरिम आदेश दिएपछि नयाँ अध्यादेशसमेत आउन नसकेको हो ।
यसैबीच कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले बजेट होलिडेको अवस्थामा पुगेपछि अदालत जाने तयारीमा रहेको बताएका छन् ।
कोशी सरकार गठनबारेको पूर्ण सुनुवाइ सर्वोच्च अदालतमा यही भदौ १५ मा प्रदेश सरकारबार हुँदै छ । त्यो वेलासम्म के गर्ने भन्ने अन्योल प्रदेश सरकारलाई छ ।