Logo

कोशी प्रदेशमा सद्‌भाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ: गृहमन्त्री



विराटनगर, ८ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वैचारिक र राजनीतिक मतभेद भए पनि कोशी प्रदेशमा एकता र सद्भाव आवश्यक भएको बताएका छन् ।

प्रदेश राजधानी विराटनगरमा सोमबार आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा साझा रुपमा समस्या बुझ्न आफू विराटनगर आएको बताएका हुन् ।

“विशेषत: यस प्रदेशको पछिल्लो परिवेश अनि आन्तरिक सुरक्षाका विषयमा ६ जिल्ला सुरक्षा समितिको पदाधिकारी भेट्यौँ ।‌ सहभागी हुन नसक्नु भएकालाई छलफलबारे जानकारी गरायौँ,” उनले भने, “सरकारसामु विकासको गति दिने राष्ट्रिय कार्यभार छ । विविधतामा एकता अझ बलियो बनाउन पर्छ ।‌ बहुजातीय र बहुभाषिक देश हो । यसलाई अझ बलियो बनाउन पर्छ ।”

उनले मौलिक पहिचान र एकता कमजोर पार्न र प्रहार गर्न खोजिएको देखिएको भन्दै अधिकार उपभोगको रक्षा गर्दै देशलाई एकताबद्ध गर्न जरुरी भएको बताए । उनले भने, “सुरक्षा निकायसँग छलफल भएको छ । राजनीतिक तहबाट छलफल गर्न आवश्यक देखिएको छ । छलफलबाट नयाँ वातावरण बनाउन पर्छ ।”

“हामीले संवेदनशील जातीय, धार्मिक र सांस्कृतिक विषयमा छलफल हुनुपर्छ । सुरक्षा र प्रशासनिक क्षेत्रसँग छलफल गरियो,” उनले भने, “संगठित गतिविधि सबैले गर्न पाउँछन्, गरिनुपर्छ । दलले अहिलेको समयलाई कसरी बुझ्नुभएको छ र समाधानको उपाय खोज्न छलफल गरिएको हो ।”

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिको नयाँ वातावरण बनाउन जरुरी भएको भन्दै देशको आन्तरिक विषयमा सबै पक्षको एकता आवश्यक रहेको सुनाए । “यहाँको एकता र सद्भाव आवश्यक छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्