Logo

कोशी प्रदेशमा सभामुख पद फाला फाल छ: अध्यक्ष लिङ्देन



काठमाडौँ, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख पद फाला फाल रहेको बताएका छन् ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कोशीमा सभामुख पद फालाफाल रहेको बताएका हुन् ।

उनले राप्रपाले चाहे कोशीमा मुख्यमन्त्री पाउने समेत दाबी गरेका थिए ।

‘कोशीमा हामीले सभामुख मागिरहनु पर्दैन । कोशी प्रदेशको सभामुख त फालाफाल छ । सभामुख लिन कुनै सर्त राख्नै पर्दैन । सभामुख र मन्त्री हाम्रा लागि प्राथमिकताको विषय होइन । हामीले चाह्यौं भने सत्तापक्षबाट मुख्यमन्त्री पाउनसक्ने अवस्था छ । अहिलेको मुख्यमन्त्रीले राप्रपालाई मुख्यमन्त्री दिँदा पनि मानेन भन्नुभएको छ । हामीले सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने सर्त भएको छैन,’ उनले भने ।

उनले संसदीय समितिमा आफूहरूले दलको संख्याका आधारमा समितिको नेतृत्व लिएको बताए ।

‘प्रतिपक्षी दलको हैसियतले हामीले संसदीय समितिमा दलहरूको हैसियतअनुसार स्थान हुनुपर्छ भनेका थियौं । सोही अनुसार एउटा समिति पाएका छौं । हामीले एउटा समिति प्राप्त गर्नुलाई कुनै सर्तसँग गाँस्नु हो भने एमालेले तीन समिति पाएको छ । उसले अहिलेको गठबन्धनलाई के सघाउने सर्तमा त्यो प्राप्त गरेको हो? त्यसकारण दलको हैसियतअनुसार हामीले दाबी गरेका हौंं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्