Logo

कोशीमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ: अध्यक्ष लिङ्देन



काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन् ।

शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टी भित्र फरक मत रहेको बताएका हुन् ।

उनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने बताए । उनले आफू देश बाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि स्पष्ट पारेका हुन् ।

उनले भने, ‘‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन । योभन्दा अगाडि नै बागमतीमा पनि छ हाम्रो सहभागिता । लुम्बिनी प्रदेशमा उपसभामुखको रुपमा हाम्रो सहभागिता छ । यो नौलो कुरा होइन । तर अहिले परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुख पदमा हामी जाने कि नजाने भन्ने कुरा छलफलकै विषय थियो । हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो । म देश बाहिर भएको बेलामा हाम्रो कोशी प्रदेशका साथीले निर्णय गरेर सहभागी हुनुभयो । त्यस विषयमा विभिन्न मत छन् ।’’

प्रतिक्रिया दिनुहोस्