विराटनगर, ४ भाद्र । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी छन् ।
उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिएकी हुन् ।
उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी छन् ।
कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका छन् । सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्न उपसभामुख दनुवारले पत्र लेखेकी छन् ।







