विराटनगर, १४ जेठ । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका ‘एलभी फोर्स’का १३ जना कार्यकर्ता पक्राउ परेका छन् ।
आइतबार बिहान प्रहरीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो ।
देवकोटाचोकमा प्रदर्शनको तयारी गरिरहँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेशसभा भवन घेराउ गर्ने उद्देश्यले उनीहरू त्यहाँ भेला भएका थिए ।
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावतीलगायत रहेका छन् ।
गएको पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आजदेखि कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।







