Logo

कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूकाे सनाखत भाेलि



विराटनगर, २६ असोज । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाएका छन् ।

मुख्यमन्त्रीका लागि ४७-४७ जना सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि सांसदलाई बोलाएका हुन् । सनाखत शनिवार बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन् । आङ्बोलाई गठबन्धनमा रहेका दल र कार्कीलाई नेकपा (एमाले) का सांसदले समर्थन जनाएका छन् । दुवै जनाले बहुमत सांसदको नाम पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि बोलाएका हुन् ।

प्रदेश प्रमुख खापुङको कार्यालयले निकालेको विज्ञप्तिमा प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन भनिएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेपछि बहुमत पुर्‍याउने सांसदलाई मुख्यमन्त्रीमा नियुक्त गरिनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ । अहिले एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्